प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई देशबीच थाती रहेका समस्या समाधान गर्ने बेला आएको बताएका छन्।
भिडियो कन्फ्रेन्समार्फत् आज विराटनगरस्थित एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘सबै थाती रहेका विषयलाई संवादमार्फत् समाधान गर्ने समय आएको छ,’ ओलीले भने, ‘मेरो सरकार यी विषयमा भारतसँग काम गर्न तयार छ।’
ओलीले कुन–कुन समस्या भन्नेचाहिँ खुलाएनन्। ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) तथा नुवाकोट र गोरखामा पुनर्निमित आवास घरहरूको भिडियोमार्फत् संयुक्तरूपमा उद्घाटन गरेका हुन्।
२००६ मा भारतसँग एकीकृत जाँचचौकी निर्माणका लागि सम्झौता भएको थियो। यो भन्सार जाँचचौकी भारत सरकारको पूर्ण अनुदान सहयोगमा बनाइएको हो। भन्सारसम्बन्धी सबै सेवा एकै ठाउँबाट उपलब्ध हुने भएकाले आयात निर्यातकर्तालाई सहज हुने, सवारी चाप घट्ने र राजस्व चुहावटमा पनि कमी आउने आँकलन गरिएको छ।