नेपाली कांग्रेसभित्र उत्पन्न विवादको समाधान खोज्नका लागि नेताहरूबीच तत्काल सहमति निर्माण गरी अघि बढ्ने बिषयमा छलफल भएको छ।
पार्टी कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधिको कार्यकक्षमा सोमबार बिहान निधिसहित पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहबीच छलफल भएको हो।
पार्टीको आन्तरिक विवादको समाधानका लागि भएको अनौपचारिक छलफल सकारात्मक रहेका एक नेताले बताए। उनका अनुसार छिट्टै सहमति निर्माण हुने गरी छलफल अगाडि बढेको छ।
यसअघि गत पुस २७ गते पार्टीको आन्तरिक विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो। सो छलफलपछि बरिष्ठ नेता पौडेल उपचारका लागि नयाँदिल्ली गएका थिए। पौडेल फर्कनुुअघि नेताहरुबीच अनौपचारिक छलफल गरी सहमति निर्माण गर्नेबारे कुराकानी भएको थियो।
सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा भएको तीनै शीर्ष नेताबीचको छलफलपछि निधि, सिटौला र सिंहबीच पटक–पटक अनौपचारिक छलफल भइसकेको छ।