नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीका स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निबास बालुवााटारमाा आइतबार बसेको नेकपा सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान पनि करिब दुई घण्टा छलफल भएको थियो ।
उक्त छलफलपछि पूर्व माओवादी समूहबाट सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री एवं अध्यक्ष ओली सहमत भएपछि सचिवालय बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष दाहालले सभामुखको उम्मेदवारमा सापकोटाको नाम प्रस्ताव गरेका थिए । त्यसपछि सचिवालयले उक्त प्रस्ताव पारित गरेको महासचिव पौडेलले बताए । उनले उपसभामुखको राजीनामाका बिष्यमा यसअघिको बैठकले निर्णय गरेकाले अब उपसभामुखले राजीनामा दिने अपेक्षा गरेको बताए।
यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ ।
सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने सम्भावना छ ।