सत्तारुढ नेकपा र मुख्य बिपक्षी नेपाली कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा टुंग्याउन दुईबुँदे समझदारी भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको दुवै दलका शीर्ष नेताहरूको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा नियुक्ति र कानुन निर्माणबारे समझदारी भएको हो।
बैठकमा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा कांग्रेसका रमेश लेखक र डा. मिनेन्द्र रिजाल तथा नेकपाबाट सुबास नेम्बां र खिमलाल देबकोटा सहभागी थिए।
दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको कांग्रेस नेता रमेश लेखकले बताए। शान्ति प्रक्रियाका बारेमा छलफल भएको भन्दै उनले त्यससम्बन्धी कानुनहरू अगाडि बढाउने सहमति भएको जानकारी दिए। नेता लेखकका अनुसार आजै सिफारिस कमिटी बैठक बस्दैछ। कमिटीले पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम पारित गर्ने सहमति भएको पनि उनले जानकारी दिए।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो। दलहरुबीच भएको सहमति अनुसार सिफारिस समितिले जुन नाम सिफारिस गरेर ल्याउँछ ती नामलाई तत्काल मन्त्रिपरिषद बैठक बसेर पारित गर्ने पनि सहमति भएको छ। बालुवाटार शीर्ष नेताहरुको बैठक बसिरहेका बेला समितिको बैठक पनि बसेको बताइएको छ।
द्वन्द्वकालीन मुद्दा किनारा लगाउनेका लागि सत्तारुढ नेकपा र कांग्रेस नेताहरुबीच शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।
याे पनि