सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल शुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, नेकपाबाट सुवास नेम्बाङ र खिमलाल देवकोटा सहभागी छन्। आजको बैठकले दुबै आयोगमा नियुक्त गरिने पदाधिकारीको नाम टुंगो लगाउने बताइएको छ। यसअघि शुक्रबार बेलुका पनि बालुवाटारमा बसेको बैठकमा नेताहरुबीच यस बिषयमा छलफल भएको थियो।
दुबै आयोगमा नाम सिफारिस गर्न सार्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिको बैठक आजै बस्दैछ। बालुवाटारको बैठकले राजनीतिक सहमति गरेपछि सिफारिस समितिको बैठकले मन्त्रिपरिषद्मा आयोगमा नियुक्त गर्ने पदाधिकारीको नाम सिफारिस पठाउनेछ। मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ।