धनुषा मिथिला नगरपालिका श्रीपुरका स्थानीय युवा दिलिप महतोलाई मरणासन्न हुने गरी कुटपिटपछि भएको हत्याको घटनाप्रति नेपाली कांग्रेसले घोर भत्र्सना गरेको छ।
महतोको परिवारलाई समवेदना दिन शुक्रबार धनुषा पुगेका कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले महतोलाई पर्यावरण सहिद घोषणा गर्न कांग्रेसले पहल थाल्ने बताए।
जोशीले नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कारबाहीका लागि कांग्रेसले पहल गर्नेमा ढुक्क रहन परिवारलाई आश्वास्त पारे। जोशीले दिलिपको उच्च प्रशंसा गर्दै सबैले दिलिपको आत्माको शान्तिका निम्ति चुरे संरक्षणमा लाग्न सुझाएका छन्।
औरही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन गर्ने माफियाहरुले रडले घोचेर घाइते बनाई खोलामा लडाएपछि टिपरले किचेर हत्या गरेका थिए।
उनी २ वर्षदेखि वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्दै आएका थिए। प्रहरीले महतोको हत्या आरोपमा अनुसन्धान लागि ४ जनालाई पक्राउ गरेको छ ।