सभामुखको टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी ओली आज पनि छलफलमा जुटेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र प्रचण्डबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको हो। अध्यक्ष प्रचण्डले सभामुखमा पूर्वमाओवादीको दाबी प्रस्तुत गरेको र त्यसप्रति ओली सकारात्मक नभएकाले निर्णय हुन सकेको छैन।
बिहीबार पनि ओली र प्रचण्डबीच सभामुख चयन विषयमै केन्द्रित भएर छलफल भएको थियो। छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको र चाँडै सभामुखको टुङ्गो लाग्ने जानकारी दिइएको थियो। सभामुख चयन हुन नसक्दा लामो समयदेखि संसद अवरुद्ध छ।
स्रोतका अनुसार प्रचण्डले स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको अडान छाडेपछि सभामुख चयन सहमतिनजिक पुगेको छ। बिहीबारको बैठकमा प्रचण्ड सापकोटाको नाममा अडान छाड्न लचिलो भएको बताइएको छ। अब प्रचण्डले सभामुखका लागि नयाँ नाम प्रस्तुत गर्ने, तर रोजाइ भने ओलीको रहने सर्त रहेको बताइएको छ।
प्रचण्डले पूर्व माओवादीवाट प्रचण्डले हरिबोल गजुरेल, देव गुरुङ, पम्फा भुषाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझीलगायतको नाम प्रस्तुत गर्ने सम्भावना रहेको छ।