गृहमन्त्री रामबहादुर थापाले विपदलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सकिने बताएका छन्।
२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बिहिबार काठमाडौको भुगोल पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दीगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए।
गृहमन्त्री थापाले जोखिमहरुको न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारी विगतमा गरिएका कार्यहरुको समीक्षा गर्न यस्ता दिवस मनाउने गरिएको स्मरण गराए। उनले जोखिम व्यवस्थापन गर्न सरकार एक्लैले मात्र नसक्ने भएकाले आम नागरिकमाझ सचेतना फैलाएर सचेत बनाउन जरुरी रहेको औल्याए। गृहमन्त्री थापाले सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना भएको भन्दै नागरिकहरुलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्ने उल्लेख गरे।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको जानकारी उनले गराए। भूकम्पले भन्दा पनि मानिसले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको उनको भनाइृ थियो।
सरकारले पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धी जनचेतना फैलाइरहेका छ। गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ। विक्रम संवत् १९९० सालमा गएको भुकम्पको सम्झनामा भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको हो।