नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बतामएका छन्।
बुधबार काठमाडौँको टुँडिखेलमा थारु संवत २६४३ तथा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए। हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको उनले बताए।
अध्यक्ष प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी समेत गरे। झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने उनले बताए। प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने जिकिर गरे।
समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताए। पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने धारणा राखे।
थारु समुदायले बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाएका हुन्। विभिन्न साँस्कृतिक झाँकीहरुसहित परम्परागत पहिरनमा सजिएका थारु समुदायका युवा युवतीहरु माघी महोत्सवमा सहभागी भएका थिए। थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँछन्। पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायत थारु बाहुल्य जिल्लामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरी उक्त पर्व धुमधामसँग मनाउने गरिन्छ।