मलेसिया र भारतबीच पहिलो कश्मीर र त्यसपछि एनआरसी र नागरिकता कानुनको विषयमा सुरु भएको गतिरोध अझ चर्किएको छ।
मलेसियाई प्रधानमन्त्री महाथिर मोहम्मदले जम्मुकश्मीरको विशेष दर्जा समाप्त पार्ने र एनआरसी र नागरिकता कानुन जारी गर्ने भारतीय कदमको चर्को आलोचना गरेका थिए।
जवाफमा भारतले मलेसियाबाट पाम तेलको आयातमा प्रतिबन्ध लगाएको छ भने महाथिरले देशका लागि भएको आर्थिक नोक्सानको चिन्ता भए पनि आफूले गलत क्रियाकलापविरुद्ध निरन्तर बोल्ने प्रतिक्रिया दिएका छन्।
भारत खाने तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। गत साताबाट भारतीय व्यापारीले मलेसियाबाट रिफाइन तेल आयाृत रोकिदिएका छन्। इण्डोनेसियापछि मलेसिया विश्वकै सबैभन्दा ठूलो पाम तेल निर्यातक देश हो।
भारतले पाम तेलको आयात रोक्दा मलेसियाको उद्योगमा ठूलो नोक्सानी हुने बताइएको छ। यद्यपि महाथिरले सरकारले कुनै न कुनै समाधान निकाल्ने बताएका छन्।
पत्रकारसँग उनले भनेका छन्, ‘भारत हाम्रो पाम तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यसबारे हामी चिन्तित छौं, तर अर्कोतर्फ यदि केही गलत भइरहेको छ भने हामी स्पष्ट हुनुपर्छ, हामी गलतलाई गलत नै भन्छौं, यदि हामी फाइदालाई हेरेर गलत हुन दिन्छौं र बोल्दैनौं भने कयांै चिज गलत दिशातिर जान्छन्, फेरि हामी पनि गल्ती गर्न सुरु गर्छौं।’
भारतीय व्यापारीहरु अब मलेसियाको साटो इण्डोनेशियाबाट पाम तेल आयात गरिरहेका छन्, जसका लागि उनीहरुले प्रतिटन १० डलर बढी तिरिरहेका छन्।