नेपाली कांग्रेसमा उत्पन्न विवाद हल गर्न पार्टी कार्यालय सानेपामा प्रारम्भिक छलफल शुरु भएको छ।
उपसभापति विमलेन्द्र निधिको कार्यकक्षमा मंगलबार निधिसहित पूर्बमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच छलफल भएको हो।
छलफलपछि उपसभापति निधिले पार्टीभित्र उत्पन्न बिबाद मिलाउने बारेमा भएको प्रारम्भिक छलफल सकारात्मक ढंगबाट अघि बढेको स्पेसखरसंग बताए।
पुस ११ को केन्द्रीय समितिले १४ औं महाधिवेशनको कार्यतालिका आफूहरुसँग परामर्श नगरी ल्याएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला देउवासँग रुष्ट थिए। उनीहरुले तीन दिनसम्म पार्टी कार्यालयमा जिल्ला सभापति भेला गरी उक्त निर्णय सच्याउन सभापति देउवालाई दवाव दिएका थिए।
सभापति निवास बुढानिलकण्ठमा आइतबार साँझ सभापति देउवा, पौडेल र सिटौलाबीच पार्टीभित्र देखिएको विवाद हल गरेर जाने विषयमा छलफल भएको थियो। नेताहरुबीच सहमतिबाटै अघि बढ्ने कुरा भएको थियो। त्यसको भोलिपल्ट सोमबार बरिष्ठ नेता पौडेल उपचारका लागि भारत गएका छन्।
बुढानीलकण्ठमा भएको छलफलमा पौडेलले सभापति देउवालाई आफू भारतबाट फर्कनुअघि अनौपचारिक छलफल गर्न र फर्केपछि पुनः बैठक बसेर समस्या समाधान गर्नुपर्ने बताएका थिए।