प्रधानमन्त्री केपी ओलीले भदौ २४ गतेका लागि काठमाडौंमा बोलाएको प्रदेश परिषद्को पहिलो बैठक शुक्रबार दिउँसो एक्कासी स्थगित गरेका छन्।
बैठकको अन्तिम तयारी भइसकेका बेला प्रधानमन्त्री कार्यालयले शुक्रबार अपरान्ह टेलिफोन गरेर बैठक स्थगित भएको जानकारी गराएको बालुटार स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयले मुख्यमन्त्रीहरुलाई सो जानकारी गराएको हो।
बिहीबारदेखि पोखरामा शुरु भएको भेलामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले एकैस्वरमा अधिकार प्रत्यायोजनमा सरकार अनुदार भएको भन्दै केन्द्रीय सरकार नै संघीयता अफल गराउन उद्यत भएको आरोप लगाएका थिए।
बालुवाटार स्रोतका अनुसार २४ गतेको बैठकमा आफूलाई संघीयता बिरोधीका रुपमा मुख्यमन्त्रीहरुले चित्रित गर्ने बुझेर त्यसबाट जोगिनका लागि प्रधानमन्त्री ओलीले अन्तिम समयमा आएर बैठक स्थगित गरेका हुन्।
प्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आह्वान गर्ने संबिधानमा उल्लेख छ। मुलुक संघीयतामा गएपछि प्रधानमन्त्री ओलीले बोलाएको यो नै पहिलो प्रदेश परिषद् बैठक थियो। बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्री, केन्द्र सरकारका मन्त्री र सचिबहरुलाई बोलाइएको थियो।
सातवटै प्रदेशमा केन्द्र सरकारमा आबद्ध दलका मुख्यमन्त्री रहेका छन्। जसमध्ये प्रदेश नंबर २ मा संघीय समाजबादी फोरमका तर्फबाट मुख्यमन्त्री छन् भने अन्य सबै प्रदेशमा नेकपाका मुख्यमन्त्री छन्।