विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना जिल्लास्तरका कार्यकर्ताले बिहिबार जिल्ला प्रशासन कार्यालय मोरङसमक्ष आत्मसमर्पण गरेका छन्।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन्। दुवै जना विप्लव नेतृत्वको नेकपामा ५ वर्षदेखि अवद्ध रही मोरङ जिल्लाको सचिवालय सदस्यको भूमिकामा रहेका थिए।
‘पार्टीले गरेको हिंसात्मक गतिविधिमा लागेको विषयमा चित्त नबुझेर पार्टी परित्याग गर्न घोषणा गर्दछौं,’ जिल्ला प्रशासन कार्यालयमा चढाएको पत्रमा उल्लेख छ, ‘आगामी दिनमा नेपालको संविधान र कानूनलाई शिरोधार्य गरी अगाडि बढ्ने जानकारी गराउँछौं।’
जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डललगायतको रोहबरमा उनीहरुलाई छोडिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए।