प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले ‘लुम्बिनी’ नाम राख्न प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी नामकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको छ ।
विशेष समिति संयोजक दीपेन्द्रकुमार पुनले बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुन सक्ने स्थान सिफारिस गरी प्रतिवेदन तयार पारिएको बताएका छन् । समितिले स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरिएको छ । यसको मतलब राजधानी कहाँ राख्ने भन्ने प्रस्ताव पनि अलमलको स्थितिमा रहेको बुझ्न सकिन्छ ।
समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता सुरु हुने प्रदेशसभा बैठकमा प्रस्तुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लगाउने तयारी छ ।
प्रदेशको राजधानी र नाम संसदको दुईतिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा सत्तारुढ नेकपाको दुईतिहाइ बहुमत भए पनि राजधानीका विषयमा पार्टीभित्र एकमत छैन । नेकपाभित्रै रुपन्देही र दाङका विषयमा मत विभाजन छ ।