प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत कात्तिक र यही मङ्सिरमा बाग्लुङ, सुनसरी, अर्घाखाँची, सिन्धुपाल्चोकलगायत जिल्लामा भएका सडक दुर्घटनामा परी पाँच दर्जनभन्दा बढी व्यक्तिको निधन भएको साथै सडक दुर्घटनामा देशव्यापीरुपमा मृत्युको तथ्याङ्क बढेको भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ । यस्तो अवस्थामा सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नुपर्ने सरकार कहाँ छ भन्ने प्रश्न उब्जिएको बैठकले उल्लेख गरेको छ ।
काँग्रेसले विज्ञप्तिमार्फत बाँकेको कोहलपुरमा विद्यालय प्रवेशद्वार अघिल्तीरै बालिकालाई ट्रकले कुल्चनु र घटनामा प्रहरीले संयमता नराख्दा थप द्वन्द्व सिर्जना हुनु दुःखद् भएको जनाउँदै घाइते बालिकाको सम्पूर्ण उपचार गर्न सरकारसमक्ष माग गरेको छ । काँग्रेसले केन्द्रीय समिति बैठकपछि विज्ञप्ति जारी गरी सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी लिन सरकारलाई अपिलसमेत गरेको छ ।
बैठकले यही मङ्सिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाको भत्र्सना गर्दै काँग्रेसले बम विष्फोट गराउने दोषी जो भए पनि कानूनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्तिसुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको भन्दै चिन्ता प्रकट गरेको छ ।