केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघिल्लो दिन बुधबार नेपाली कांग्रेसका पदाधिकारीको बैठक पार्टी कार्यालय सानेपामा जारी रहेकाे छ।
मंसिर १४ गते सम्पन्न उपचुनाबको समीक्षा तथा पार्टीका बिभिन्न बिभाग र भातृ संस्था अधिबेशन लगायतका बिषयमा केन्द्रीय समितिको औपचारिक बैठकको अघिल्लो दिन सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका हुन्।
यसअघि, बुधबार नै सभापति देउवा निवास बुढानीलकण्ठमा संस्थापन र महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा इतपर पक्षका नेताबीच छुुट्टाछुुट्टै छलफल भएको थियो। बुधबारको पदाधिकारी बैठक र बिहीबारको केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भनेर रणनीति तय गर्ने गृहकार्यका रुपमा यो बैठकलाई लिइएको छ। बैठकमा दुुबै पक्षका तर्फबाट खटाइएका नेताहरुले छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए।
संस्थापन पक्षबाट सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु बालकृष्ण खाँण, रमेश लेखकलगायतका नेताहरुबीच छलफल भएको थियो।
संस्थापन इतर पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, डा. शेखर कोइरालालगायत सहभागी थिए। विभाग गठन र भ्रातृ संगठनमा तदर्थ समिति गठन गरी निश्चित समय तोकेर महाधिबेशन गर्न लगाउने बिषयमा देउवा पक्षबाट उपभापति निधिसहितका नेताहरु र पौडेल पक्षबाट अर्जुननरसिंह केसीसहितको छलफल मंगलबार भएको थियो।
केन्द्रीय विभाग गठन तथा भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउने पक्षमा रहेका देउवाले सकेसम्म सहमतिका आधारमा निर्णय गरेर सकारात्मक सन्देश कांग्रेसजनमा पु¥याउँन चाहेका छन्। यद्यपि पार्टी बिधानले बिभाग गठन र भातृसंस्थाका बारेमा निर्णय गर्ने अधिकार सभापतिलाई नै दिएको छ।
संस्थापन पक्ष कुनै पनि भ्रातृ संस्थाको नेतृत्व पौडेल पक्षलाई दिने पक्षमा छैनन्। तर पनि अन्य पद सहमतिका आधारमा भागबण्डा लगाउन देउवा तयार रहेको निकटहरु बताउँछन्। संस्थापन इतर पक्ष भने नेविसंघ र तरुण दलमध्ये एउटाको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएको छ। देउवा भने नेविसंघ र तरुण दलमा तीन–तीन महामन्त्री बनाएर पौडेल, सिटौला र आफूले एक एक लिने पक्षमा छन्। यसैगरी, बिभागमा पनि उनी सहमतिका आधारमा भागबण्डा गर्ने पक्षमा छन्।