जुवा खालबाट पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक मेजर राजेन्द्र शाहीलाई प्रधानमन्त्रीले पुनः काममा फर्काएका छन्।
तिहारका बेला सामाखुसीस्थित जुवा खालबाट पक्राउ परेका शाहीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन छ।
नेपाली सेनाले सैनिक ऐन बिपरित उनलाई ड्युटीमा खटाएको हो। किनकि सैनिक ऐनको परिच्छेद ७ को दफा ६५ को उपदफा ३ मा भनिएको छ, ‘अन्य अदालतको क्षेत्राधिकारभित्र परी अनुसन्धानका क्रममा रहेको यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्ति थुनामा रहेको अवधिभर र अदालतमा मुद्दा चलेकोमा अन्तिम फैसला नभएसम्म स्वतः निलम्बनमा रहनेछ।’ सैनिक ऐनको यो प्रावधानअनुसार मेजर शाहीलाई निलम्बन गर्नुपर्ने हो। तर सैनिक मुख्यालयले निलम्बन नगरी ड्युटीमै खटाइएको छ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले १५ कात्तिकमा सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट मेजर शाहीसहित आठजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो। जुवाखालबाट प्रहरीले १ लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको थियो।
सोही अभियोगमा पक्राउ परेको शाहीलाई १५ दिन थुनामा राखी जुवा मुद्दा चलाएकोमा काठामाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० हजार धरौटीमा छाड्ने आदेश दिएका थिए। धरौटीमा छुट्ने आदेश दिएको भए पनि मुद्दाको फैसला हुन बाँकी नै छ।
प्रहरीले मुद्दा चलाएका व्यक्तिलाई निलम्बन नगरी पुनः काममा फर्काएर नेपाली सेनाले संगठनभित्र रहेको अनुशासनको पहिचान गुमाएको छ।
यो घटनापछि एकातिर सेनामा जे गर्न पनि छुट छ भन्ने सन्देश गएको छ भने अर्कातिर प्रधानमन्त्री ओलीले दोषीलाई कार्बाही होइन, ‘पुरस्कृत’ गर्नुपर्छ भन्ने गलत सन्देश दिएर सिंगो पार्टीलाई बदनाम बनाएको नेकपाकै कतिपय नेताहरुले अनौपचारिक छलफलमा भन्ने गरेका छन्।