सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी समितिको बैठक आह्वान गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । नेकपाको स्थायी समितिको बैठक गत वर्ष पुसदेखि बस्न सकेको थिएन । पछिल्लो समय नेताहरूले पाटीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए ।
स्थायी समिति बैठक बस्नुअघि २७ गते फेरि सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन पठाउने समय थप गरेको छ । यसअघि सचिवालय बैठकले मंसिर २२ गतेसम्म समीक्षा रिपोर्ट पठाउन निर्देशन दिए पनि केही जिल्लाबाट रिपोर्ट नआएकोले पाँच दिन थप गरिएको हो ।
पाँच दिनभित्र अनिवार्य रूपमा उपनिर्वाचनको रिपोर्ट पेश गर्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । रिपोर्ट प्राप्त भएपछि महासचिव विष्णु पौडेलले अर्को सचिवालय बैठकमा पेश गर्ने उनले बताए । बैठकमा संगठन विभागले विभागको तहबाट एक कार्ययोजनासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको छ ।
यसबारे पार्टी अध्यक्षलाई सुझावहरू पेश गर्ने र त्यसबारे संगठन विभागसँग समेत छलफल गरी अर्को बैठकमा अध्यक्षले निर्णयार्थ पेश गर्ने निर्णय गरिएको छ । विभिन्न जिल्लामा संगठनात्मक क्षेत्रमा देखिएको समस्याबारे आवश्यक छानबिन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने र केन्द्रीय विभागहरूको पूर्णताका निम्ति सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले ७ दिनभित्र महासचिवमार्फत प्रस्ताव प्रस्तुत गर्ने र आगामी बैठकले विभागहरूलाई पूर्णता दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले पार्टीका कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने र यथावत काममा फर्किन निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै यसभन्दा अगाडि बसेको स्थायी कमिटी बैठकको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गर्ने सन्दर्भमा स्थायी कमिटीको निर्देशन र यसअघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार मानेर संशोधन प्रस्ताव तयार गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।