सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी मुख्यालय धुम्बराहीमा सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वैचारिक तथा संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । बैठकमा उप-चुनाव समीक्षा र पार्टीको एकता प्रक्रियाबारे टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा पेस गर्ने विषयबारे अध्यक्ष प्रचण्डले आइतबारै पार्टीका नेताहरुसँग छलफल गरिसकेका छन् । सचिवालय बैठकअघि पनि आज बिहान प्रचण्डले नेकपाका वरिष्ठ नेता माधव नेपाल र संगठन विभाग प्रमुख वामदेव गौतमसँग खुमलटारमा छलफल गरेका थिए ।
बैठकलाई लिएर प्रचण्डले हिजो अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग पनि परामर्श गरेका थिए । बैठकमा पार्टी एकतालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजनाको प्रस्ताव अध्यक्ष प्रचण्डले पेस गर्ने बुझिएको छ ।
यसेबीच आजै साँझ ४ बजे प्रधानमन्त्री केपी ओलीले पनि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक भने बालुवाटारमा बस्ने तयारी छ । अस्वस्थ भएपछि उपचार गराई बालुवाटार फर्किएका ओलीले दुई सातापछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।