हिन्दू धर्मका पक्षमा वकालत गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन्।
विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसंग कुरा गर्दै महामन्त्री डा. कोइरालाले यस्तो बताएका हुन्। ‘धर्म निरपेक्षभन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षमा म छु’ केन्द्रीय सदस्यद्धय डा. मिनेन्द्र रिजाल र गुरुराज घिमिरेलाई दाँया–बाँया राखेर उनले भने ‘ धर्म स्वतन्त्र हुनुपर्छ भन्ने मेरो मान्यता हो।’
कांग्रेस महाधिवेशनको मिति तोकिएको समयमा हुनुपर्नेमा कोइरालाले जोड दिए। उनले कांग्रेसको विधान अनुसार महाधिवेशनको मिति एक वर्षसम्म थप्ने व्यवस्था भएपनि ६ महिना वा एक वर्षमात्र महाधिवेशनको म्याद थप्दा उचित हुने धारणा राखे।
उनले मुलुकको आर्थिक समवृद्धिका लागि राजनीतिक सहमति अपरिहार्य रहेकोमा जोड दिए। कोइरालाले मुलुकको हितका लागि कांग्रेसले सधै सहमतिका पक्षमा रहेको बताए। संविधानको सफल कार्यान्वयका लागि पनि सहमतिको विकल्प नभएको उनको भनाई थियो।
उनले सरकार गठन भएको दुईवर्ष वितिसक्दापनि ठोस योजना दिन नसक्दा जनतामा निराशा बढेको उल्लेख गरे।