बाँकेको कोहलपुरमा भएको घटनाको विरोधमा काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ । कोहलपुरमा आइतबार (हिजो) प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।
नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस एकाइको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका थिए । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका छन् ।
पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमै पुगेर समापन भएको थियो । नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोसाकमा भएका विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’
एक ट्रकले आइतबार बिहान ठक्कर दिएर कक्षा ७ मा पढ्ने कोहलपुर १० की प्रकृति चन्द सख्त घाइते भएपछि नेपालगन्ज-कोहलपुर खण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित १५ जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट केही प्रहरीहरु पनि घाइते भएका छन् ।
ट्रकको ठक्करबाट घाइते प्रकृतिको उपचार ललितपुरमा रहेको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।