निर्वाचन आयोगले राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन तयारी अघि बढाएको छ।
संसद् सचिवालयले राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि फागुन २० गतेदेखि सकिन लागेकाले निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेलगत्तै आयोगले तयारी अघि बढाएको हो।
सोही क्रममा आयोगले आज प्रमुख दलका नेतासँग परामर्श गर्दैछ। रिक्त हुनुभन्दा ४४ दिनअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था भएकाले आयोग तयारीमा जुटेको हो।
दलका नेतासँगको परामर्शपछि आयोगले सरकारलाई निर्वाचन मिति प्रस्ताव गर्नेछ। एक तिहाइ राष्ट्रियसभा सदस्यको चुनाव आउँदो माघ ७ गते गर्ने तयारी आयोगको छ। राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचित र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीनजना मनोनित हुने व्यवस्था छ।
रिक्त हुने १९ पदमध्ये महिला समूहबाट सात, दलितबाट दुई, अपांग र अल्पसंख्यकबाट दुई, खुलातर्फ सात र मनोनितबाट एकजनाको पद छन्।