प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर गएको बिहीबार सरकारीनिवास बालुवाटार फर्किए। प्रधानमन्त्री ओलीको महाराजगन्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
डिस्चार्ज भएकै दिन अस्पतालले प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको सार्वजनिकसमेत गरेको थियो। जुन खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरिसकेको छ।
यसअघि, प्रधानमन्त्री ओली गत भदौमा ९ दिन सिंगापुरमा उपचार गरी फर्किएका थिए। उपचारका क्रममा सिंगापुर जाने टोलीमा प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव र सुरक्षाकर्मी थिए। टोलीमा रहेका सबैको हवाई भाडा, दैनिक भ्रमण भत्ता, होटल खर्च सरकारले बेहोरेको थियो।
‘प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ,’ १९ साउनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमा भनेका थिए, ‘सरकारी कर्मचारीको खर्च, आउने–जाने, बसोबास खर्च भने सरकारले स्वीकृत गरेको छ। प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले बेहोर्दैन।’
ओली उपचार गरेर फर्किए तर उपचार खर्चको व्यवस्थापन कसरी गरियो त्यसबारे अहिलेसम्म प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी गराएको छैन। खर्चको व्यवस्थापनबारे औपचारिक जानकारी नगराउनुलाई नेकपा समर्थित कुनै विवादास्पद व्यक्तिले गरेको चर्चा उतिबेलै पनि नचलेको होइन। जानकारहरूका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गराउँदाको सबै खर्चको व्यवस्थापन विवादास्पद मेडिकल व्यवसायी बसरुद्दिन अन्सारीले गरेको बताइन्छ। अन्सारी नेसनल मेडिकल कलेज वीरगन्जका मालिक हुन्। उनी गत स्थानीय चुनावमा वीरगन्ज महानगरपालिकामा तत्कालीन एमालेको तर्फबाट मेयरका प्रत्यासी थिए।
हुन पनि गत साउन १८ गते उपचार गर्न ओली सिंगापुर गएको पर्सिपल्ट साउन २० गते प्रधानमन्त्री ओलीका तत्कालीन जनसम्पर्क सल्लाहकार अच्युत मैनालीसँग फोटो खिचेर अन्सारीले सिंगापुरबाटै सार्वजनिक गरेका थिए। कसैले एनसेलका तर्फबाट खर्च भएको टिप्पणीसमेत गरेका छन्।
यसअघि कात्तिक २०७५ मा प्रधानमन्त्री ओलीको उपचार र औषधि खर्च साढे ३७ हजार भएको विवरण सार्वजनिक गरिएको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओलीको उपचारमा २५ हजार ६ सय ४० रुपैयाँ र औषधिमा ११ हजार १ सय १७ रुपैयाँ लागेको विवरण सार्बजनिक गरिएको थियो।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी विगतमा पनि प्रधानमन्त्रीको उपचार खर्च राष्ट्रले नै व्यवहोरेको स्मरण गर्दै अहिले पनि त्यसैअनुसार खर्च गरी पारदर्शी गराउनुपर्नेमा जोड दिन्छन्। ‘अनेक धन्दामा संलग्न व्यक्तिबाट प्रधानमन्त्रीको सिंगापुरको उपचार खर्च व्यहोरिएको भन्ने सुन्नमा आएको छ,’ स्पेसखबरसँग कुरा गर्दै केसीले भने, ‘प्रधानमन्त्रीको उपचार खर्च राज्यले ने बेहोर्दा पनि केही फरक पर्दैन, तर राज्यले बेहोर्दैन भने पनि पारदर्शी चाहिँ हुनैपर्छ।’
हुन पनि नेपालका अस्पतलामा भएको प्रधानमन्त्रीको उपचार खर्चको विवरण सार्वजनिक गरेर मात्र हुँदैन। देशबाहिर भएको खर्च कुन स्रोतबाट भएको हो त्यसको जानकारी आम–मानिसले थाहा पाउनुपर्छ। यसो हुँदा अनुमानका भरमा गरिएको टिका–टिप्पणीबारे पनि थप प्रस्ट हुन जानेछ।