नवनियुक्त संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले पाल्पाको सिद्धबाबा खण्डमा बन्न लागेको सुरुङमार्ग १ महिनाभित्रै टेन्डर प्रक्रियामा जाने बताएका छन् ।
अर्थ मन्त्रालयले निर्माणमा लगानी निश्चित गरिसकेको जनाउँदै उनले कम्तीमा १ किमि बन्ने सुरुङ मार्गको निर्माणका लागि एक महिनाभित्रै टेन्डरको प्रक्रियामा जाने बताए ।
‘हाम्रै स्रोतसाधन र डिजाइनबाट कम्तीमा १ किमिको सुरुङ मार्ग निर्माणको डीपीआर सम्पन्न भइसकेको छ । हाम्रै स्रोतबाटै १० अर्बमा बनाइने सुरुङ मार्ग यो १ महिनाभित्र टेन्डर प्रक्रियामा लैजाने कुरा बताउन चाहन्छु,’ मन्त्री नेम्बाङले भने । सरकारको प्राथमिकतामा परेको आयोजना भएकाले सुरुङमार्ग निर्माणमा ढिलासुस्ती नहुने उनले दाबी गरे ।
बुटवलमा आइतबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उनले रुग्ण अवस्थामा रहेका आयोजनाहरुलाई द्रुत गतिमा अगाडि बढाउन सरकार जुटेको बताए । मन्त्री नेम्बाङले निर्माणाधीन आयोजनाहरुमा जनताले गति चाहिरहेको बताउँदै प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार ठूला भौतिक पूर्वाधर निर्माणको कामलाई गति दिइने बताए ।