नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सीमाकाे विषयमा सरकारलाइ तत्काल भारतसँग वार्ता थाल्न आग्रह गरेका छन्। सबै प्रमाण हुँदा पनि अन्तर्राष्ट्रिय जगतलाई कालापानी र लिपुलेक नेपालको भूभाग हो भनेर बुझाउन नसक्नु वर्तमान सरकारको कमजोरी भएकाे उनले बताए ।
नेपाल पे्रस युनियन नवलपुर शाखाले आज आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा देउवाले महाकाली सन्धिमा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भनेर स्पष्ट उल्लेख गरिएको प्रमाण हुँदा पनि सरकारले ती भूभाग नेपालकै हुन् भनेर कूटनीतिक पहल गर्न नसकेको भन्दै आलोचना गरे ।
सभापति देउवाले अङ्गे्रजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी भन्ने गरिएको नदी नै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको स्पष्ट गरे ।
मिडिया विधयेक ल्याएर सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको भन्दै उनले सरकारको आलोचना समेत गरे । यस वर्षको सूर्यभक्त पतानादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ ।