पूर्वराष्ट्रपति रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताए ।
बारबर्दिया नगरपालिका ६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरिद र पूर्वाधार निमार्णका लागि बिहीबारदेखि सुरु धनधान्याञ्चल महायज्ञ उद्घाटन कार्यक्रममा उनले शिक्षा क्षेत्रको विकास गर्न यसअघि नै बनेको शिक्षा आयोगले अध्ययन गरी सिफारिस गरेको सुझावलाई मात्रै सरकारले योजना बनाएर कार्यान्वयन गरे अहिलेसम्म धेरै अगाडि बढिसक्ने बताए ।
स्थानीयस्तरमै उच्च शिक्षासम्म अध्ययन गराउने उद्देश्यले २०६६ मा अशुंबर्मा माविको प्राथमिक कक्षा सञ्चालन ब्लकको भवनमा सुरु गरिएको थियो । अहिले पनि क्याम्पस सोही भवनमा चल्दै आएको छ । क्याम्पस व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले स्थानीय शिक्षाप्रेमी दिपिन पोखरेलले ५ कठ्ठा दान गरेपछि सोही जग्गामा भवन निर्माण गरी पढाइ सुरु गरिएको छ ।
बारबर्दिया नगरपालिकाले नगर क्षेत्रमा कुनै पनि शैक्षिक संस्था सञ्चालन गर्न न्यूनतम १ बिघा अनिवार्य हुनपर्ने नीतिगत निर्णय गरेको छ । थोरै मात्र जग्गामा आवश्यक पूर्वाधार निर्माण गर्न पनि समस्या भएको छ । सदाशिव बहुमुखी क्याम्पस नगरपालिकाका नागरिकलाई उच्च शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण शैक्षिक संस्था भएकाले यसको सबै क्षेत्रको विकास गर्न आफूले सबै किसिमको काममा सहकार्य गर्ने बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारूले बताए । क्याम्पसको जग्गा खरिद र पूर्वाधार निर्माण गर्न स्थानीय बासिन्दा पनि सक्रिय भएर लागेका छन् । -रासस