कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल मुख्य बिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका छन्।
बिहिबार बिहान निवास पुगेका दाहाललाई सभाति देउवाले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएकोमा बधाई दिएका थिए। अध्यक्ष दाहाल आफैंले फोन गरेर देउवालाई भेट्न पुगेका थिए। देउवा र दाहालबीच आधा घण्टाभन्दा बढी कुराकानी भएको थियो।
देउवासंगको भेटमा दाहालले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्ने बताएका थिए। राष्ट्रिय मुद्धामा सबै दल एक हुनुपर्ने भन्दै दाहालले त्यस्ता मुद्धामा सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
भेटमा देउवाले राष्ट्रिय मुद्धामा कांग्रेस कहिलयै पनि विपक्षमा नभएको भन्दै सरकारले बिपक्षी दललाई पेलेर अघि बढ्न खोजेकोमा आपत्ति जनाएका थिए। संबैधानिक आयोगका रिक्त पदमा गर्न लागिएको नियुक्ति प्रकृयामा संबैधानिक परिषद्को सदस्यका नाताले मुख्य बिपक्षी दलप्रति प्रधानमन्त्रीले गरेको बेवास्तालाई देउवाले औल्याएका हुन्।
दाहालसँगको भेटमा सभापति देउवाले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि उपनिर्वाचनको नतिजालाई लिएर नेकपाभित्र आरोपप्रत्यारोप शुरु भएका बेला कांग्रेस सभापति देउवासंग नेकपा अध्यक्ष दाहालको भेटलाई राजनीतिकबृत्तमाअर्थपूर्ण रुपमा हेरिएको छ।