विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा उपनिर्वाचन सम्पन्न भएको छ। त्यसको परिणाम पनि सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा पूर्वको ‘लालकिल्ला’ भनेर चिनिने सुनसरीको धरान महानगरपालिका प्रमुखमा प्रतिपक्षी नेपाली कांग्रेसले विजयी हासिल गरेको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सोचेजस्तो मत नल्याएपछि ६० वर्षको विरासत गुमाउनु परेको छ। कम्युनिस्ट पार्टीको गढको रूपमा रहेको धरानमा कांग्रेस उम्मेदवार विजयी भएपछि सबैले आश्चर्य मानेका छन्।
नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे। कांग्रेसका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत ल्याए। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए।
२०१५ सालमा भएको संसदीय र स्थानीय निर्वाचनमा देशैभरी कांग्रेस उम्मेदवार विजयी भएको थियो। संसद्मा दुई तिहाइ र स्थानीय तहमा समेत कांग्रेसकै उम्मेदवार विजयी भएको थियो। तर, त्यस्तो बेलामा समेत धरानमा वामपन्थी उम्मेदवार केदारप्रसाद खनाल निर्वाचित भएका थिए।
२०४६ सालको जनआन्दोलन र २०४८ सालमा भएको निर्वाचनमा मात्रै नभई त्यसयताको सबै निर्वाचनमा धरानमा वामपन्थी उम्मेदवार नै विजयी हुँदै आएका थिए। वामपन्थीको प्रभाव रहेकै कारण सुनसरी १ बाट पार्टी अध्यक्षसमेत रहेका नेता मनमोहन अधिकारीले चुनाव जितेका थिए। गृहनगर विराटनगर भए पनि वामपन्थी प्रभावकै कारण अधिकारले यो क्षेत्र रोजेका थिए। सो क्षेत्रबाट वामपन्थी बाहेकका अन्य उम्मेदवार कहिल्यै नजितेको नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले बताए।
६ दशकको लामो वामपन्थी विरासत कांग्रेसले भत्काएपछि अहिले नेकपामा आन्तरिक समीक्षा हुनुपर्ने भन्दै आरोपप्रत्यारोप सुरु भएको छ। नेकपा प्रदेश १ का सदस्य तथा सांसद रेवतीरमण भण्डारीले पार्टी एकीकरणपश्चात् नेताकार्यकर्ताको उचित व्यवस्थापन नभएको, नेतृत्वको दम्भ तथा अहंकारले ६० वर्षदेखिको ‘लालकिल्ला’ भत्किएको बताए। राजधानीमा खबर छ।