नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १५ गते सम्पन्न उपनिर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाएका छन्। प्रहरी, प्रशासन लगाएर सरकारले निर्वाचनमा धाँधली गरेको उनको भनाई थियो।
कांग्रेस नेता भीमबहादुर तामाङको सातौं स्मृतिसभाको अबसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचनमा धाँधली भएको बताएका हुन्।
निर्वाचनमा प्रहरी प्रशासनको भूमिका निष्पक्ष नरहेको भन्दै उनले भने, पोखरामा कांग्रेसले जित्ने ठाउँमा बम पड्काएर षड्यन्त्र गरियो। निर्बाचनको दुई दिनअघि मात्रै प्रहरीको सरूवा गरियो। प्रहरी निष्पक्ष नहुँदा नहुँदै पनि भक्तपुर, धरान र चितवनमा कांग्रेसले जित्न सफल भएको सभापति देउवाले उल्लेख गरे।
उपनिर्वाचनमा भएको धाँधलीका बिषयमा कांग्रेसले थप अध्ययन गरिरहेको भन्दै उनले छानबिनका लागि निर्बाचन आयोगमा दबाब दिनेसमेत बताए।