प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य राम्रो हुँदै गइरहेको बताएका छन्।
सोमबार दिउँसो अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले मेजर अप्रेसनपछि पनि आफू बोल्न र उठेर बस्न सक्ने भएको बताएका हुन्।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा अनेक अड्कलबाजी भइरहेको बेलामा भिडियो सन्देशबाट ओलीले शल्यक्रियापछि पनि आफू हिँड्डुल गर्न सकेको बताएका हुन्।
प्रधानमन्त्रीको सन्देश
एपिन्डसाइटिस कसैलाई पनि सूचना दिएर आउने रोग होइन। मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलियो। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि भएका हुनाले त्यसलाई हटाउनुप¥यो।
त्यसकारण हप्ता÷दशदिन उपचारको क्रम लाग्ने नै भयो। तर, मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ, र सुधार भइरहेको छ। एउटा मेजर अप्रेसनपछि तपाईहरु देखिरहनु भएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अबस्थामा छु र समाचारहरु हेर्न सक्ने भएको छु।
हिजो मैले १३ औं सागको उद्घाटन खेलपनि पुरै हेरेँ। हुन सक्छ कि सक्तैन भन्ने द्विविधा भएको बेलामा समाधान भएकोले खुशी लागेको छ। म राष्ट्रपति ज्यूलाई उद्घाटन गरिदिनुभएकोमा अरु सबैलाई सहभागी भइदिनुभएकोमा धन्यवाद दिन चाहन्छु।
मैत्रीपूर्ण खेलबाट देशको इज्जत बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क राष्ट्र शिखरका खेलाडीहरु सबैलाई आग्रह गर्दछु।