नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सांसदहरुको टोली लिएर कालापानीमा जाने पहिलो नेता आफू रहेको दाबी गरेका छन् । पोखरामा बुधबार आफ्ना उम्मेद्वारलाई भोट माग्न आएका पौडेलले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाएकोमा उनले आपत्तिसमेत जनाए । ‘अहिले राष्ट्रियताको सवालमा कम्युनिस्टहरुको झुटो प्रचारले सीमा नाघ्यो,’ उनले भने, ‘सभामुख हुँदा कालापानीसम्म आफ्ना सांसदहरु लिएर गएको मान्छे मै हुँ । म मात्रै पहिलो त्यो नेता हो नेपालमा जसले कालापानीमा आफ्ना सांसदहरुको टोली लिएर गएँ ।’
उनले कम्युनिस्टका सांसदहरु र तथ्यांक विभागका महानिर्देशकसहितको टोली लिएर कालापानी गएको बताए । ‘काली नदी बगेको भूभाग हुँदै लिम्पियाधुराभन्दा पूर्व कसरी आउनु भो भनेर भारतीय सेनालाई सोध्ने मै हुँ,’ उनले भने, ‘त्यति बेला त्यहाँ प्राप्त विवरण संसदमा बुझाएकै हो ।’ अहिले कम्युनिस्टहरुले जनतालाई गुमराहमा पार्ने दुष्प्रयास गरेको पौडेलले आरोप लगाए ।
फरक प्रसंगमा नेता पौडेलले कास्कीमा कांग्रेसले सही उम्मेद्वार चयन गरेको पनि दाबी गरे । ‘कास्कीमा उम्मेदवार छनोटले गर्दा पार्टी एकता भएको छ,’ उनले भने, ‘तटस्थ मतदाताहरुको पनि सहानुभूति छ । त्यसैले उहाँले चुनाव जित्नु हुन्छ ।’