संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन् ।
नेपालगन्ज म्याराथनको पाँचौं संस्करणको उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे ।
सरकारको नारालाई देश विदेशमा पुर्याउन नेपालगञ्ज म्याराथनले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताए ।
शान्ति, सद्भाव र एकताका लागि नेपालगन्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उनको भनाइ थियो । नेपालगन्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू यहाँ आएको बताउँदै उनले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दाबी गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा लगायतले म्याराथनले नेपालगन्जलाई चिनाउन सहयोग गरेको बताए ।
म्याराथनको पाँचौ संस्करणमा २७ सयभन्दा बढी सहभागी थिए । सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्तिसम्झौताको सम्झनामा नेपालगन्ज म्याराथनको आरम्भ गरिएको क्रियटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । -रासस