नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकार कालापानीमा लम्पसार परेको बताएका छन् ।
चुनावका बेला ओलीले देखाएको राष्ट्रवादी चरित्र नेपाली जनताले अहिले बल्ल बुझ्न थालेको उनले बताए । नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको ३०औं साधारणसभाका अवसरमा पोखरामा शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
अदालतलाई स्वतन्त्र राखिनुपर्ने भन्दै उनले यो निष्पक्ष रहे सरकारले गलत गरे पनि सच्याउन सकिने बताए । यस्तै सभापति देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोपसमेत लगाएका छन् । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै देउवाले भने, 'सरकारले अख्तियारलाई शाही आयोग बनाउँदै छ ।’
नेपाल बार एसोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै उनले असन्तुष्टि जनाए । बारमा जितेको भए न्याय परिषदमा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने भन्दै उनले भने, 'त्यो सम्भावना गयो ।’
यस्तै सोही कार्यक्रममै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली अध्यादेशमार्फत तानाशाही बन्न खोजेको आरोप लगाए । महामन्त्री शशांक कोइरालाले भने अहिलेको उप-निर्वाचनमा कांग्रेसको जितले लोकतन्त्र बलियो हुने बताए ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले कम्युनिस्ट शासन लाद्न ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद् ऐन संशोधन गर्न लागेको आरोप लगाए ।
नेपाली कांग्रेसनिकट देशभरिका वकिल पोखरामा साधारण सभाका लागि भेला भएका छन् । स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसरमा डीएलएको साधारणसभामा सहभागी हुन नेपाली कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, केन्द्रीय सदस्य रिजाललगायत नेताहरु पोखरा पुगेका छन् ।