प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक विसंगति रोक्न आफूहरु लागिपरेको बताएका छन् ।
१० वर्षअघि देखिको गोलमाल भएको हिसाब मिलान, कारबाही, असुल-उपर, बेरुजु फर्स्योट, माफीलगायत प्रक्रियामा समिति क्रियाशील भएर काम गरिरहेको उनको दाबी थियो । रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले देश आर्थिक मन्दीको अवस्था रहेको जिकिर गरे ।
‘यहि अवस्था रहिरहे नेपालको आर्थिक अवस्था एक दिन गर्ल्याम-गुर्लुम ढल्नसक्छ, राज्यको ढुकुटी सरकारले जथाभावी बाँडेर रित्तायो, मनपरि खर्च बढेको छ, सरकारले कर बढाउनेबाहेक अरु केही गरेन,’ उनले भने । सरकारले गरेका एक-एक कामको लेखाजोखा भइरहेको भन्दै उनले कुनै पनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताए ।
सभापति शाहले अन्त शुल्कको स्टिकर छपाइको टेन्डर नेपाली कम्पनीले पाउनुपर्ने बताए । अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेन्डर विदेशी कम्पनीलाई दिएको भन्दै नेपाली कम्पनीलाई नै टेन्डर दिन निर्देशन दिएको बताए । ‘मन्त्रालयले मनोमानी गरेपछि हामीले निर्देशन दिएका छौं, आर्थिक चलखेलका लागि विदेशी कम्पनीलाई किन टेन्डर दिने, नेपालीले किन नपाउने ?’ उनले भने ।
सरकारले आर्थिक पारदर्शिता अपनाउन नसकेको भन्दै उनले अर्थमन्त्री युवराज खतिवडाको आलोचना पनि गरे । ‘भन्सारमा गाडी आउन कम भो, राजस्व असुली २२ प्रतिशत मात्रै छ, सरकारले जनतालाई कर मात्रै थोपरेको छ, उद्योगीहरु मर्कामा छन्, प्यानकार्ड र सामाजिक सुरक्षा कोषले झन् समस्या थपेको छ, यसरी कतिदिन चल्छ ?’ उनले भने ।