सरकार गठन भएको १७ महिनापछि बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरे।
कार्यसम्पादन कमजोर भएकाहरूलाई हटाएर नयाँ अनुहार ल्याउने बताइए पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकै नाताले विना मगरको मन्त्री पद कायमै रह्यो। सरकारलाई दुईतिहाइको पगरी गुथाउन सरकारमा सामेल भएका समाजवादी पार्टीका नेता उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारका बारेमा गरेको टिप्पणीका कारण प्रधानमन्त्री ओली उनीप्रति सन्तुष्ट थिएनन्। त्यसैकारण पनि यादव देशबाहिर भएको मौकामा ओलीले गरेको मन्त्रीमण्डल पुनर्गठनमा उपप्रधानमन्त्रीको पद कायमै राखिए पनि स्वास्थ्य मन्त्रालयबाट हटाएर उनलाई कानुन मन्त्रालयमा पठाइएको छ।
त्यसो त प्रधानमन्त्री ओलीले समाजवादी पार्टीका तर्फबाट मन्त्री भएका यादवसहितका ३ जनालाई बुधबारै पदमुक्त गराउन चाहेका थिए। तर अर्का अध्यक्ष प्रचण्डले ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने’ भन्दै उपेन्द्रको मन्त्रालय हेरफेर गरेका हुन्। यसाे गर्नुकाे अर्काे कारण के पनि हाे भने यादब सविधान सशाेधनकाे मुद्धा बाेकेर सरकारमा सामेल भएका हुन्। तर उनले त्यस मुद्धामा सिन्काेसमेत भाँच्न सकेनन्। याे अबस्थामा कानुन मन्त्रालयकाे जिम्मा लिएर सरकारमा बसेमा भाेलिका दिनमा तराइ मधेशमा उपेन्द्रको राजनीति पूरै सकिनेछ। त्यसैले पनि उनी सरकारबाट हट्न चाहन्छन्।
कतिसम्म भने उपेन्द्रकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेका सुरेन्द्रकुमार यादवलाई पनि पदमुक्त गराइएको छ। उनलाई पदमुक्त गराएको मात्र होइन, उपेन्द्रको भागमा परेको कानुन मन्त्रालयमा एमालेका रामवीर मानन्धरलाई राज्यमन्त्री बनाइएको छ। यो अवस्थामा स्वदेश फर्कनासाथ उपेन्द्र यादवले सरकार छाड्नुपर्ने बाध्यता देखिन्छ।
नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘अब पनि उपेन्द्रजीलाई सरकारबाट बिदाइ गरेका हौं भन्न केही बाँकी छ र?’ ती केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच उपेन्द्रलाई दिइएको कानुन मन्त्रालयमा उपसभामुख शिवमाया तुम्बाहम्फेलाई ल्याउने निश्चित जस्तै छ।
उपेन्द्रको पार्टीले सरकार छाड्नासाथ उनको पार्टीबाट सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राई स्वतः हट्नेछन्। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको समझदारीअनुसार त्यसपछि सहरी विकास मन्त्रीमा ओलीनिकट मानिने महेश बस्नेतलाई नियुक्त गरिनेछ।