राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहोराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । तुलसीपुरमा बिहीबार आयोजित पत्रकार भेटघाटमा उनले भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने सुझाए ।
'पहिलोपटक सर्वदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अवस्थामा पनि सरकारले भारतसँग वार्ता गर्न सकेको छैन,' उनले भने । उनले अहिले नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले धर्मयुद्ध निम्त्याउन सक्ने धारणा राखे । नेता बोहराले पूर्वराजालाई पनि संविधानको परिधिमा ल्याउनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो निर्वाचन ‘मिनी’ जनमतसंग्रह भएको बताए । वर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्न उप-चुनावको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।