प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रीमण्डलमा हेरफेर गरेको विषयलाई लिएर सत्तासीन नेपाल कम्युनिस्ट पार्टीका नेताबीच आरोप प्रत्यारोप सुरु भएको छ।
मन्त्रीमण्डल पुनर्गठनमा मधेशबाट सामेल गराइनेको सूचीमा रहेका नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको आरोप लगाएका छन्।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका साहले ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो,’ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन।’
साहको अभिव्यक्तिको खण्डन गर्दै अर्का केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रभु साहको फेसबुक स्ट्याटस देख्दा लाज लागेको बताएका छन्। रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो। तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ।’
रिजालले प्रश्न गरेका छन् ‘कसैले उहाँसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ?,’ पार्टीको अनुशासन आयोग भर्खरै बनेको उल्लेख गर्दै रिजालले ‘यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति पार्टीको ध्यान जान जरूरी छ,’ भनेका छन्।
रिजालले वीरगन्जका काशी तिवारी हत्याकाण्डको प्रसंग उल्लेख गर्दै प्रश्न गरेका छन् ‘अँ, साँच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र?’ सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप नगर्ने रिजालको भनाइ छ।