निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै माहुरी झै काम गरेको बताएका छन् । पुनर्गठित मन्त्रीमण्डलमा नपरे पनि उनले थप ऊर्जा र प्रेरणासहित बाहिरिएको बताए ।
आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै विष्टले इमानदारीपूर्वक जनताको काम गरेको बताएका हुन् ।
‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरें,’ विष्टले फेसबुकमा लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु– थप ऊर्जा र प्रेरणाका साथ ।’
सामाजिक सुरक्षा, वैदेशिक रोजगारीदेखि श्रममा ठगिएकाकालाई न्याय दिलाएर लोकप्रिय बनेका विष्टको बर्हिगमनप्रति धेरैलाई चित्त बुझेको देखिएको छैन ।
तैपनि, काम गर्न अवसर दिएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद पनि दिएका छन् ।
‘मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु,’ उनले लेखका छन्, ‘सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’