कास्की २ मा हुने उपनिर्वाचन आफ्नो पक्षमा पार्न नेपाल कम्युनिस्ट पार्टी नेकपाले अनेक ‘हर्कत’ अपनाएको छ। नेपाली कांग्रेसले सशक्त र निर्विवादित व्यक्ति खेमराज पौडेललाई उठाएपछि हतास मनस्थितिमा पुगेको नेकपाले चुनावी रणनीतिका लागि डमी उम्मेदवारलाई अगाडि सारेको छ।
पोखरा महानगरपालिका १९ का ६६ वर्षीय उमानाथ गौतमलाई एमालेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लगाएर डमीको रुपमा अगाडि सारेको छ। गौतम नेकपाकै स्थानीय कार्यकर्ता हुन्। चुनावी खर्च देखाउन र मतदानको दिन गाडी प्रयोग गर्नकै लागि नेकपाले उमानाथलाई अगाडि सारेको हो। कात्तिक २१ गते उम्मेदवार मनोनयनको दिन अन्तिम समयमा नेकपाका जिल्ला नेता इमानराज पौडलले आफ्ना छिमेकीलाई ल्याएर उम्मेदवारी दिन लगाएका हुन्।
समय सकिनै लाग्दा जिल्ला नेता धनराज आचार्यसहितको टोलीले गौतमलाई लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । भित्र छिरेपछि फारम भर्नेदेखि सबै काम नेता इमानराजले गरेका थिए। धरौटीवापतको १० हजार रुपैयाँ पनि इमानराजले नै निकालेर रसिद काटेका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उमानाथलाई किताब चिन्ह प्रदान गरेको छ। त्यसो त रवीन्द्र अधिकारीसँगै पृथ्वीनारायण क्याम्पसमा राजनीति गरेका कमलजंग कुँवर पनि उक्त क्षेत्रमा उम्मेदवार छन्। वन मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागको उपसचिवबाट राजीनामा दिएर उनी चुनावी मैदानमा उत्रेका हुन् । हाल आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको र स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताएका छन्। चितवन राष्ट्रिय निकुन्जमा वार्डेन हुँदा गरेको उनको काम निकै प्रशंसनीय छ। त्यतिबेलाकै अनुभव समेटेर उनले ‘गैंडालाई ४ वर्ष’ किताब पनि लेखेका छन्। उनले यो चुनावमा शंख चिह्न रोजेका छन्।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कास्की २ मा भाग लिएका २१ उम्मेदवारले चुनाव चिह्न पाएका छन्। उपनिर्वाचन कार्यक्रम तालिकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले गत सोमबार स्वतन्त्रसहितका सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो।
कास्की २ मा १० स्वतन्त्रसहित ११ दलीय गरी २१ उम्मेदवार चुनावी मैदानमा छन्। दलीय उम्मेदवारलाई निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिह्न प्रदान गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए।
स्वतन्त्रमा उम्मेदवारी दिएका पोखरा १७ का ५६ वर्षीय रनबहादुर दमैले आफ्नो चुनाव चिह्न ‘डोजर’ रोजेका छन्। विवेकशील नेपाली दलबाट उठेकी जमुना शर्माले ‘गुलाबको फूल’ पाएकी छन्। विवेकशील आयोगमा दर्ता नभएकाले स्वतन्त्रसरह नै चिह्न पाएको हो।
चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई (सूर्य), प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट खेमराज पौडेल (रुख), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी (गाई), संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ (हत्केला), साझा पार्टीबाट रजनी केसी (तराजु)ले दलीय चिह्न नै पाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माले)का टेकनाथ भण्डारी (हँसिया तारा), नेपाली कांग्रेस (बिपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट (कलश), राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना (घर), देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा (जरायो), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल (हलो), मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ (कुखुराको भाले) ले समेत दलीय चुनाव चिह्न पाएका छन् ।
स्वतन्त्र उम्मेदवार दीपक रेग्मीले क्यामेरा, नवराज बास्तोलाले कलम, यज्ञप्रसाद पंगेनीले आँप, रनबहादुर दमैले डोजर, लक्ष्मीकुमारी भुजेलले माहुरी, सुनीलबहादुर कोइरालाले टेबुल, सुनील भुसालले क्रिकेट ब्याट चिह्न पाएका छन् ।
दलीय उम्मेदवार रहेका प्रतिपस्पर्धीले मनोनयनको कार्यक्रम सकिएसँगै चुनाव प्रचारमा जुटेका छन् । कास्की २ मा ११ वडाका गरी कुल ७१ हजार ८ सय ७१ मतदाता उपनिर्वाचनमा सहभागी हुनेछन् । मतदाताको भोट आफ्नो पोल्टामा पार्न स्वतन्त्र सहितका दलीय उम्मेदवारले विभिन्न एजेन्डा अघि सारेका छन् । निर्वाचन आयोगले उपनिर्वाचन कार्यक्रम अनुसार मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने तालिका तय गरेको छ ।