नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तय भएको बताए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन्। नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन्।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ। रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन्।
८ मन्त्री भने बर्खास्तीमा परेका छन्। मन्त्री पद गुमाउनेहरूमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा छन्।
पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ। त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ।