नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालमा मधेसवादी पार्टीका नाममा जनतालाई झुक्याउने काम भएको बताएका छन्।
महोत्तरीको पिपरामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले भने, ‘म ठोकुवाको साथ भन्छु नेपालमा मधेसवादी पार्टी छैनन्। मधेसवादीको नाममा जनतालाई झुक्याउने कामहरु मात्रै भइरहेको छ।’
उनले राष्टिय राजनीतिमा एमाले, माओवादी पार्टीको अस्तित्व समाप्त भएजस्तै मधेशवादी भनाउँदा दलहरुको पनि अस्तित्व हराइसकेको बताए। ‘आफ्नो अगाडि मधेस शब्द राख्ने अहिलेका समाजवादी र राजपाले समेत मधेश शब्द हटाइसकेका छन्,’ नेता निधिले भने, ‘लाज लागेपछि मधेस शब्द हटाउनेहरुले मधेसी पार्टी हो भनेर जनतालाई झुक्याउने काम मात्रै गरिरहेका छन्।’
मधेश र समग्र देशको हित गर्ने पार्टी कांग्रेस मात्र भएको भन्दै निधिले कांग्रेसले संविधान संशोधन गर्न चाहे पनि नेकपा र सत्तासिन अर्को घटक समाजवादी पार्टीले नचाहेका कारण संशोधनको मुद्धा अघि बढ्न नसकेको उल्लेख गरे। ‘नेकपाका नेताहरु त संविधान संशोधन गर्न नै चाहदैनन्’ उनले भने, ‘सरकारमा रहेको समाजवादी पार्टी पनि त्यही कित्तामा उभिएको छ।’
चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य फरमुला मन्सुरले वर्तमान कम्युनिष्ट सरकार इतिहासकै भ्रष्ट भएको बताए।