नेपाल–भारत सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बुधबार पोखरामा सुरु भएको छ । सीमावर्ती अपराधलाई नियन्त्रण गर्ने, हातहतियार ओसारपासर रोक्ने, लागुऔषध, मानवतस्करी रोक्ने विषयमा पहिलो दिन छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘समन्वय र सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित छ । दसैंतिहारका बेलामा सीमा क्षेत्रमा राखिएको संयुक्त हेल्प डेस्क निकै प्रभावकारी भयो, यसलाई निरन्तरता दिनेबारेमा छलफल भएको छ ।’ सीमा क्षेत्रमा सँगै काम गर्दाका अनुभव आदानप्रदान मात्र नभएर २ देशको सुरक्षा निकायबीच तालिम आदानप्रदानको विषय पनि छलफलमा समेटिएको छ ।
पोखरामा सुरु भएको बैठक ६ गते काठमाडौंमा सकिनेछ । बुधबार दिउँसो पहिलो चरणको बैठक सकेर संयुक्त टोलीले पोखराको पर्यटकीय क्षेत्रको भ्रमण गरेको छ । बिहीबार कुरिनटारस्थित सशस्त्रको तालिम केन्द्र अवलोकन गरेर टोली काठमाठौं पुग्ने छ । बैठकमा उठेका विषयलाई दुवै देशका सुरक्षा संयन्त्रले आआफ्नो देशको गृहमन्त्रालयमा जानकारी गराइसकेका छन् । मन्त्रालयबाट आवश्यक छलफलका बुँदा परे परिमार्जनसहित फिर्ता गरेपछि माइन्युट गरेर औपचारिक रुपमा बैठकको समापन गरिने प्रवक्ता डिआजी श्रेष्ठले बताए । बैठकमा नेपालका तर्फबाट पेस गर्ने एजेन्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गृह मन्त्रालयमा यस अघि नै पेस गरेका थिए ।
पोखराको दोबिल्लास्थित माउन्टग्लोरी रिसोर्टमाभएको बैठकमा नेपालबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृह, पराराष्ट्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारी सहभागी छन् । भारतका तर्फबाट एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी छ ।
२०७५ साउन २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । त्यसअघि २०६९ र २०७२ मा भारत र नेपालले क्रमश पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए । दिल्लीमा सम्पन्न तेस्रो बैठकले समन्वय बैठक वर्षको एकपटक, सीमा सुरक्षा गण तहमा २ पटक र बोर्डर अब्जर्भर पोस्ट (बिओपी) तहमा हरेक महिना बैठक बस्ने निर्णय गरेको थियो । उक्त बैठकमा सीमापार अपराध नियन्त्रणका लागि औपचारिक संयन्त्र बनाई नियमित गस्ती गर्ने सहमति भएको थियो । क्षमता अभिवृद्धिका लागि २ संगठनले आ–आफ्ना अनुभव साट्ने र अवलोकन भ्रमण गर्ने समझदारी पनि त्यही बेला भएको थियो ।
गण र बिओपी तहमा नियमितजसो सीमा सुरक्षा, अन्तरदेशीय अपराध रोकथाम, नियन्त्रण र सूचना आदानप्रदानबारे हरेक वर्ष दुवै देशका सीमा सुरक्षा निकायबीच बैठक आयोजना हुने गरेको छ । केन्द्रीय तहमा समन्वय बैठकलाई नियमित गर्न नसकिएको गृह मन्त्रालयका उच्च अधिकारीले बताए ।
नेपाल र भारतबीच पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म २३ जिल्लामा करिब १ हजार ८ सय ८० किमि सीमा लम्बाइ कायम छ । केही वर्षयता एसएसबीले नेपाल–भारत सीमामा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । उसले ५ सय ३० वटा सीमा पोस्ट खडा गरिसकेको छ । एपिएफले पनि त्यसैअनुरूप संरचना अगाडि बढाउँदै लगेको छ ।
सीमा सुरक्षा समन्वय बैठक भएकाले कालापानीको नक्सा विवादबारे यसमा छलफल गर्न पाइँदैन । भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर सार्वजनिक गरेको विवादित राजनीतिक नक्साबारे कुनै छलफल भएन ।