पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार असफल भइसकेको बताएका छन् ।
वर्तमान सरकारले विकासको प्राथमिकता र जनताका आवश्यकता छुट्याउन नसकेर असफल भएको उनको दाबी थियो । पाँचथर र तेह्रथुमको कार्यकर्ता भेला सकेर धनकुटा पुगेका नेता पौडेलले प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार भेटघाटमा सरकारले हावादारी कुरा गरेर समृद्धिको यात्रामा ध्यान नदिएको आरोप लगाए ।
उनले अहिलेको सरकारले पुराना सरकारले गरेका कामको उदघाटन मात्रै गरेको र नयाँ योजना शिलान्यास गर्न नसकेको दाबी गरे । उनले सरकार गठनपछि जनतालाई सुशासनसँगै न्याय दिन नसकेको, पक्षपातपूर्ण शासन गरेको, स्वदेशी लगानीकर्ता, दाता र सहयोगीहरू भाग्न थाल्दा समृद्धिका बाटाहरू रोकिन थालेको आरोप लगाए ।
फरक प्रसंगमा नेता पौडेलले मुलुकमा अब कांग्रेस र कम्युनिस्ट पार्टी मात्रै रहेकाले जनताले एकपटक कम्युनिस्टलाई रोजिसकेको तर काम केही नभएकाले अब कांग्रेसले आफूभित्रको कमजोरी हटाएर जनताको भरोसा बन्नुपर्ने बताए । 'यसका लागि कांग्रेसले अभियानकै रुपमा अघि बढिसक्यो,' उनले भने ।