सरकार गठन भएको १७ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दैछन्।
मन्त्री हेरफेरबारे अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री ओली बालुवाटार फर्केका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केहीबेरमा बस्ने नेकपा सचिवालय बैठकले मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ। थापाका अनुसार नवनियुक्त मन्त्रीहरुलाई साँझसम्म सपथ गराउने तयारी भइरहेको छ।
बालुवाटार स्रोतको भनाईमा १० जनासम्म मन्त्री फेरिने छन्। पूर्ब माओवादीका कृषि मन्त्री चक्रपाणि खनाल र उद्योग मन्त्री मातृका यादव मन्त्रिपरिषदबाट हट्नेको अग्रसूचीमा छन्। यसको संकेत पाएर नै यादव र खनाल मंगलबारको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिएनन्।
यसैगरी, पूर्ब एमालेका तर्फबाट मन्त्री भएका थममाया थापा, रघुबीर महासेठ र लालबाबु पण्डित पनि हट्नेको सूचीमा छन्। संचार मन्त्री गोकुल बास्कोटालाई हटाउन पार्टीभित्रबाटै दबाब भएपछि प्रधानमन्त्री ओली मन्त्रालय फेरबदल गरेर उनलाई समेट्ने पक्षमा छन्। अधिकांश मन्त्रीको जिम्मेवारी हेरफेर हुने बताइएको छ।