मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल गरेका छन्।
नेकपाको आइतबार सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिएपछि ओलीले शीर्ष नेतासँग नै छलफल गरी मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य थालेका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले हालकै केही मन्त्रीलाई निरन्तरता दिने र केही नयाँ ल्याउने गरी गृहकार्यअघि बढाएका हुन्।
प्रधानमन्त्री ओलीले हालका केही मन्त्री, सचिवालय तथा स्थायी कमिटीका केही सदस्यलाई राखेर समेत छलफल गरेका छन्। केही समयअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाल र नेता नेपालसँग मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल गरेका थिए। त्यसअघि ओलीले सचिवालय सदस्य बामदेव गौतम, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पार्टी महासचिव बिष्णु पौडेल, परराष्ट्रमन्त्री एवं स्थायी कमिटीका सदस्य प्रदीप ज्ञवाली लगायतकासँग पुनर्गठनबारेमा छलफल गरिसकेका छन्। नेकपा स्रोतका अनुसार मंगलबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन हुनेछ।
केही यथावत् केही नयाँ आउने
यस्तै, सोमबार बिहान पार्टी अध्यक्ष दाहालले खुमलटार निवासमा मन्त्रिपरिषद् पुनर्गठनबारेमा छलफल गरेका छन्। छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। यस्तै, ऊर्जामन्त्री एवं स्थायी कमिटीका सदस्य वर्षमान पुन, भौतिकमन्त्री तथा स्थायी कमिटीका सदस्य रघुवीर महासेठलगायतको सहभागितामा बैठक बसेको थियो।
सरकारको काम प्रभावकारी, जनमुखी तथा नतिजामुखी बनाउन मन्त्रिपरिषद् पुनर्गठन हुँदै छ। पार्टी र जनस्तरबाट सरकारको कामबारे असन्तुष्टि आएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन्।
मन्त्रिपरिषद्मा आउने सम्भावित मन्त्रीको सुची पनि प्रधानमन्त्री ओलीले तयार पारेको बताइएको छ। जसमा नेकपाका नेता घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नि सापकोटा, खगराज अधिकारी, पार्वत गुरुङ, महेश बस्नेतको नाम चर्चामा छन्। त्यस्तै, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सोमप्रसाद पाण्डे, कृष्णगोपाल श्रेष्ठ, पम्फा भुषाल, देबेन्द्र पौडेल, राजेन्द्र गौतम, विशाल भट्टराई आदिको नाम पनि मन्त्री बन्ने चर्चामा रहेको छ। राजधानी दैनिकमा खबर छ।