पार्टी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुसंगको परामर्शपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा छन्।
सरकार गठन भएको १७ महिनापछि प्रधानमन्त्री ओली पार्टीभित्र शक्तिसन्तुलन कायम गरी मन्त्रिपरिषद् पुनर्गठनमा जुटेका हुन्। सरकारको काम निष्प्रभाबी भएको भनेर जनस्तरबाटै टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेका हुन्।
कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरुलाई हटाएर प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्मा नयाँ अनुहारलाई भित्र्याउन खोजेका छन्।
बालुवाटार स्रोतका अनुसार ओली सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसंग रुष्ट छन्। मन्त्री महासेठको कार्यशैलीको उनकै गृहजिल्ला धनुषाबाट व्यापक असन्तुष्टी आएको छ। तर महासेठ भने उपेन्द्र महतोको धाक लगाएर आफूलाई कसैले हटाउन नसक्ने दाबी गरिरहेका छन्।
यसैगरी, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषि पशुपंक्षीमन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री बिना मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकमालाई पनि कमजोर कार्यसम्पादन भन्दै हटाउन लागेका छन्।
अर्कातिर, गोकुल बास्कोटाले सरकारको प्रबक्ताका रुपमा काम नगरी अनाबश्यक कुरा गरेर सिंगो सरकारलाई बिबादमा ल्याउने काम गरेको भन्दै हटाउन पार्टीभित्रैबाट प्रधानमन्त्रीमाथि दबाब बढेको छ। तर प्रधानमन्त्री ओली बास्कोटालाई सरकारबाट नहटाए पनि संचार मन्त्रालय भने दिन नहुने निष्कर्षमा पुगेका छन्। प्रदीप ज्ञवालीको कार्यसम्पादनमा राम्रो देखिए पनि मन्त्रालय फेरबदल गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन्।
अर्थमन्त्री युवराज खतिवडाका कारण शेयर बजार ओरालो लागेको भनेर निजी क्षेत्रबाट बिरोध भएपनि त्यस ठाउँमा पूर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ल्याउने तयारी भइरहेको बताइन्छ। पूर्ब एमालेबाट थपिने अन्य नयाँ अनुहारमा घनश्याम भुसाल, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, महेश बस्नेत, यज्ञराज सुनुवार, प्रेम आलेलगायत छन्।
यसैगरी पूर्वमाओवादी केन्द्रबाट पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, लेखराज भट्ट लगायत छन्। सभामुख बन्ने प्रयासमा रहेका अग्नी सापकोटा पूर्ब एमालेले नै सभामुख राख्ने छनक बुझेपछि मन्त्री बन्ने दौडमा छन्।