नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्नु अघि कास्कीमा निकै निराशा थियो। नेता कार्यकर्ता चिन्तित थिए। उम्मेदवारका आकांक्षीहरूमा निकै डर थियो। नेताहरूमा पनि पिर थियो। पार्टीबाट चुनाव लड्न १६ जनाले चाहना गरेका थिए। यीमध्ये केन्द्रले जसलाई टिकट दिए पनि स्वीकार गर्ने आकांक्षीहरूको प्रतिवद्धता त थियो तर भित्रभित्रै अन्तर्घातको चिन्ताले पिरोलिरहेको थियो।
केन्द्रले उम्मेदवार छनोट गर्न जति ढिलाई गर्दै गयो, त्यसको मार कास्की छटपटी थियो। कहिले को कहिले को नेताहरूको नाम चर्चामा आउँदा कास्की कांग्रेसका सभापति कृष्ण केसीको मन अमिलो, मुख अँध्यारो हुन्थ्यो। उनले यसअघिका निर्वाचनमा वागी, गुट, अन्तर्घात, असहयोगको पीडा व्यहोरेका छन्।
जब पार्टीको केन्द्रीय समितिमा पनि शेरबहादुर देउवाले कात्तिक २० गते अन्तिम समयमा खेमराज पौडेललाई टिकट दिएको खबर बाहिर आयो सभापति केसीको मुहारमा टन्टलापूर घाम लाग्यो। ‘म त औधि खुशी भएँ’, उनी भन्छन्, कांग्रेसेले पहिलो पटक सही पात्र छानेको महसुस भयो।’
सभापति केसी मात्र होइन पार्टी कार्यालयमा सहभागी भएर निर्णय कुर्दै बसेका नेता देवराज चालिसे लगातका अन्य नेता कार्यकर्ता पनि जुरुक्कै उठे, अंकमाल गरे। खुशी प्रकट गरे। उम्मेदवार आकांक्षीमध्ये प्रमुख दावेदार थिए देवराज चालिसे।
उनी चुनाव अभियानको सबै व्यवस्थापनको तयारीका साथ बसेका थिए। केन्द्रको निर्णय आउन ढिलाइ हुँदा अमिलो मन बनाएर बसेका नेता देवराज खेराज पौडेलको नाम आउँदा ‘वा नेपाली कांग्रेस, यस पटक सही निर्णय भयो’ भन्दै नेता कार्यकर्तासंग हात मिलाए, गला मिलाए। उनीमात्र होइन् नेता कार्यकर्ताहरू ‘ढिलो आयो, कडा आयो’ भन्दै उफ्रिएर खुशी प्रटक गरे।
उम्मेदवार छनोट र मनोनयनसंगै पार्टीले कास्कीका, कास्कीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै नेताहरूलाई चुनावमा परिचालन गर्यौ। केन्द्रीय समितिले पनि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई कमाण्डर बनाएर खटायो। पार्टीले चुनावमा परिचालन गरेका नेता कार्यकर्ता पनि यस पटक मसिनो गरी मैदानमा उत्रिए। पार्टीका उच्च तहका नेताहरू पनि टोलटोलमा हिंडेरै घरदैलोमा खटिएका छन्।
पोखरा–४ मा खटिएका पार्टीको पूर्व सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘खेमराज गुरुलाई जिताउन सबै किसिमले लागेका छौं। सबै नेता कार्यकर्ता उत्साहित भएर लागेका छन्।’ पोखरा–४ का चुनावी कमाण्डर समेत रहेका थापा भन्छन्, ‘वडादेखि नगर, क्षेत्रदेखि जिल्ला र केन्द्रसम्मका पूरै कांग्रेसी जागेका छन्। यत्तिको बलियो कांग्रेस इतिहासमै थिएन।’
‘कम्युनिष्ट रवैयाले आक्रान्त जनता र मतदाता समेत कांग्रेसप्रति विश्वस्त छन्। कांग्रेसीहरू पनि गर या मरको अवस्थामा छन्, कांग्रेसको मात्र होइन राष्ट्रकै इज्जत जोगाउन पनि यो चुनाव कांग्रेसले जित्नुपर्ने पक्षमा छन्’, नेता थापाले भने।
कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका जिल्ला कमाण्डर कृष्ण केसीले चुनावमा सिंगो कांग्रेस जुरुक्क उठेको बताए। ‘कांग्रेसी नेता कार्यकर्ता, सिंगो पार्टी पंक्ति एकढिक्का भएर चुनावमा लागेको इतिहासमै पहिलो पटक हो’, उनी भन्छन्, ‘कास्की–२ को चुनावले सिंगो पार्टीको गुट उपगुट, असन्तुष्ट सबै अन्त्य भएको छ।’
१ सातादेखि कास्कीको चुनावमा सक्रिय कमाण्डर डा. मिनेन्द्र रिजाल कास्कीको चुनावले सिंगो पार्टीलाई एकढिक्का बनाएको दावी गर्छन्। ‘उम्मेदवार छनोटमै अन्तरकलह चर्किन्थ्यो, त्यसको असर चुनावमा देखिन्थ्यो। तर अहिले सिंगो पार्टी एक ढिक्का भएर खेमराजको पक्षमा खेखिएका छन्’, उनी भन्छन्, ‘विपक्षी दलका नेताहरूले पनि कांग्रेसले सही निर्णय गरेकोमा खुशी व्यक्त गरिरहेका छन्।’
कांग्रेस नेता देवराज चालिसे पनि यो चुनाव कांग्रेसको पक्षमा आउने दावी गरे। ‘सबै क्षेत्रमा उम्मेदवार खेमराजलाई संगसंगै लिएर हिंडेका नेता चालिसेले कांग्रेसको पक्षमा विगतको भन्दा राम्रो माहोल देखियो’, उनी भन्छन्, ‘मैले विगतको चुनावमा सिको शिक्षा, भएका कमजोरीलाई सुधार गरेर यो चुनावमा खटिएको छु। उम्मेदवार खेमराज गुरु हुनुहुन्छ तर चुनाव जित्ने उहाँले मात्र होइन कांग्रेसले पनि हो। त्यसैले म आफै खटिएको छ।’ सरकारको गतिविधिले जनता निकै रुष्ट भएको आफूलाई महसूस भएको नेता चालिसे बताए।
कांग्रेसको चुनाव व्यवस्थापनप्रति सञ्चारकर्मीको बीचमा पनि सकारात्मक चर्चा चल्ने गरेकोछ। प्रेस संगठनका एक नेता भन्छन्, ‘कांग्रेसले पहिलो पटक गतिलो पात्र खडा गर्याे।’ उनी भन्छन्, ‘यसले सकारात्मक सन्देश दिएको र नेता कार्यकर्ता पनि उत्साहित भएर लागेको अनुभूति गर्यौं।’
प्रेस युनियन निकट एक नेता कांग्रेस यति व्यवस्थित भएर अघि बढेको इतिहासमै नभएको दावी गर्छन्। ‘हामीले संविधानसभाको २ र अघिल्लो गरी ३ निर्वाचन व्यहोर्यौ तर यति चुस्त व्यवस्थापन अघिल्ल चुनावमा थिएन’, उनी भन्छन्, कांग्रेसका नेता कार्यकर्ता यतिधेरै जागेको कहिल्यै थिएनन्।’ सधैंैं सतहीमा प्रचार गरेर हल्ला गर्ने कांग्रेस यस पटक निकै तलसम्म पुग्नु नै महत्वपूर्ण भएको उनले बताए।
यसैबीच, कास्की–२ का सबै क्षेत्रमा कांग्रेसको मतदाता भेटघाट कार्यक्रम जारी छ। पोखरा–११ मा उम्मेदवारसहितको घरदैलो र कोणसभा जारी छ। साथै पोखराका अन्य १० वटा वडामा पनि नेता कार्यकर्ता मतदाता समक्ष पुगेका छन्। कास्की कांग्रेसले चुनाव प्रचारका लागि सबै नेताहरू वडा वडामा र कार्यकर्ताहरू टोलटोलमा खटाएको छ। कांग्रेसका सबै संगठन प्रचार समिति गठन गरेर चुनावमा केन्द्रित भएको छ।
धादिङ सम्पर्क समिति पनि चुनावमा
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समिति पनि कास्की–२ को उपनिर्वाचनमा खटिने भएको छ। समितिकोे बैठकले चुनाव प्रचार समिति गठन गरेको छ। सभापति लालप्रसाद पाठकको संयोकत्वमा ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरिएको हो।
जसमा कृष्णकुमार श्रेष्ठ, केदार धमला, मोहन पण्डित, कमलबहादुर पाण्डे, हरि पन्त, यादुप्रसाद ढकाल, टेकबहादुर थपलिया, माधव लम्साल, नारायण दुवाडी, वेनु पण्डित, सीता श्रेष्ठ, किशोर भट्ट, देवराज अर्याल, भोजराज सापकोटा, शान्ता धरेल, नवीन थपलिया, राजेन्द्र इटनी, राजेन्द्र पाण्डे, कल्पना पौडेल, हरिकृष्ण सिटौला समितिको सदस्य छन्। यसैगरी कृष्णप्रसाद थपलिया, केशव श्रेष्ठ, अर्जुन अर्याल, राकेश श्रेष्ठ, सुव्वा श्रेष्ठ, गोपाल तिमिल्सिना, कुमार पन्त, विष्णु आचार्य, लालकाजी श्रेष्ठ, जयराम थपलिया, भरत कडरिया, कृष्णबहादुर शाह, रामकृष्ण खनाल, मिरा पाठक लगायत समितिको सदस्यमा छन्।
यसैगरी हरि पन्तको संयोजकत्वमा प्रचारप्रसार समिति बनाइएको छ। सरोज अर्याल र राकेश श्रेष्ठलाई समितिको सदस्यमा राखिएको छ। यस्तै कोषाध्यक्ष किशोर भट्टको संयोजकत्वमा अर्थ संकलन समिति बनाइएको छ। समितिमा सहकोषाध्यक्ष देवराज अर्याल र सदस्य शान्ता धरेल सदस्य छन्।