राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने दाबी गरेका छन् ।
पार्टीको जनकपुर–लुम्बिनी धार्मिक यात्राको अवसरमा आज आयोजित कोणसभामा उनले सनातन हिन्दू धर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने बताए ।
विसं २०६२/६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी अध्यक्ष राणाको थियो । पार्टीको धार्मिक यात्रामा देखिएको जनलहरबाट आफू उत्साहित भएको उनले बताए ।
पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले ८० प्रतिशत ओमकार समुदाय बसोबास गरेको देशलाई कुनै पनि दृष्टिले धर्मनिरपेक्ष भन्न नमिल्ने तर्क राखे । धार्मिक यात्राको क्रममा आम सर्वसाधारणको हिन्दू धर्मप्रतिको आकर्षण प्रष्ट देखिएको पाण्डेको धारणा थियो । भरतपुरमा भएको कोणसभा सकिएसँगै नारायणी नदीमा आरतीमा यात्राको समूह सहभागी भएको थियो ।रासस