प्रधानमन्त्री केपी ओलीले नेपाली भूभाग कालापानीबाट भारतीय सेना हटाएरै छाड्ने बताएका छन् । नेकपाको राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा उनले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने दाबीसमेत गरे ।
प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने ठोकुवा गरेका हुन् । उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरे । ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं, हाम्रो भूमिबाट छिमेकीले सेना फिर्ता लैजाऊन्,’ उनले भने ।
राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई बल पुगेको उनको भनाइ थियो । नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिनु मुख्य विषय भएको भन्दै उनले सरकारले आफ्नो भूमि फिर्ता ल्याउने बताए ।
कात्तिक १६ गते भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि त्यसबारे नेपालमा भारतको तीव्र विरोध भइरहेको छ ।