पर्साको सखुवाप्रसौनी ५ मा आगामी मंसिर १४ गते हुने उप-चुनावमा अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । तर, चुनावी माहोल भने ३ पार्टीबीच केन्द्रित देखिएको छ । चुनावमा सत्तारुढ नेकपा, समाजवादी पार्टी नेपाल तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।
वडाध्यक्षका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन परिचालन कमिटी, प्रचार-प्रसार कमिटी र टोल कमिटी गठन गरी चुनावी गतिविधिलाई तीव्र बनाएका छन् ।
टोलटोलमा बिहानदेखि राति अबेरसम्म उम्मेदवारले मतदातालाई आफूतिर तान्न विभिन्न उम्मेदरवारले भेला, बैठक, छलफललगायतकार्यक्रम गरिरहेका छन् । २०७४ को स्थानीय तह चुनावमा समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष वृजमोहन राय यादवको मृत्युपछि यहाँ उप-चुनाव हुन लागेको हो ।
समाजवादी पार्टीले रुपलाल यादवलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ भने नेकपाले उदयशंकरप्रसाद रौनियार तथा कांग्रेसले अशेश्वरप्रसाद यादव, राप्रपाले सदरी महरा रामलाई अघि सारेको छ । गोपालप्रसाद कानूको उम्मेदवारी स्वतन्त्र रुपमा परेको छ ।
खासगरी नेकपा, कांग्रेस र समाजवादी पार्टीको उम्मेदवारबीच त्रिकोणात्मक चुनावी प्रतिस्पर्धा हुने देखिएको हो । गाउँपालिकाको नेतृत्वमा समाजवादी पार्टीका प्रदीप जैसवाल रहेकाले पनि उसका लागि यो चुनाव प्रतिष्ठाको समेत हुने देखिएको छ । -रासस